काठमाडौं– बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष तमीम इकबालले यस सिजन बंगलादेश प्रिमियर लिग (बीपीएल) आयोजना नहुने बताएका छन्।
अघिल्ला संस्करणमा देखिएका म्याच फिक्सिङ र भ्रष्टाचारका आरोपलगायत विभिन्न समस्याका कारण यस वर्ष प्रतियोगिता आयोजना नगर्ने निर्णय गरिएको उनले बताएका हुन्।
बिहीबार मिरपुरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै तमीमले भने, ‘मलाई त्यस्तो लाग्दैन। यस वर्ष बीपीएल हुँदैन।’
सन् २०१२ मा सुरु भएको बीपीएल बंगलादेशको सबैभन्दा लोकप्रिय घरेलु क्रिकेट प्रतियोगिता हो। तर भारत र अस्ट्रेलियालगायत देशमा हुने फ्रेन्चाइजमा आधारित टी–२० लिगले हासिल गरेको आर्थिक सफलता बीपीएलले हासिल गर्न सकेको छैन।
बंगलादेशको राष्ट्रिय दैनिक प्रथम आलोका अनुसार पछिल्ला दुई संस्करणमा बीसीबीले करिब ४० करोड बंगलादेशी टाका (३२ लाख ७० हजार अमेरिकी डलर) घाटा व्यहोरेको छ।
‘म खेलाडी भएको भए म पनि निराश हुन्थें,’ तमीमले भने, ‘तर यो प्रतियोगिता बीसीबीले गर्व गर्न सक्ने गरी आयोजना हुनुपर्छ भन्ने उनीहरूलाई पनि थाहा छ। पछिल्ला केही वर्षमा जे भयो, त्यसमा हामी गर्व गर्छौं त ? सायद गर्दैनौं।’
बीपीएलमा भएको भ्रष्टाचारसम्बन्धी अनुसन्धानपछि बीसीबीले गत मेमा सट्टेबाजीसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा एक खेलाडी र विभिन्न टोलीका पदाधिकारीलाई निलम्बन गरेको थियो।
यसअघिको संस्करणमा घरेलु क्रिकेटरहरूले बीसीबीका अधिकारी नजमुल इस्लामले खेलाडीको आलोचना गर्दै उनीहरूको आर्थिक मूल्यबारे प्रश्न उठाएको विरोधमा खेल बहिष्कार गरेपछि केही खेलको तालिका पुनर्निर्धारणसमेत गरिएको थियो।
तमीमले बीपीएललाई पुनः आयोजना गर्ने प्रतिबद्धता जनाउँदै हतार नगरी प्रतियोगितालाई व्यवस्थित बनाउने बताएका छन्।
‘म हतार गर्न चाहन्नँ। म यसलाई सही ढंगले गर्न चाहन्छु। त्यसका लागि ६ महिना वा १२ महिना लाग्छ भने पनि म त्यति समय लिन्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।