काठमाडौं। क्यामरुनले पहिलोपटक महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा प्रतियोगिताको पहिलोपटक सहभागी मालावीलाई ३–० ले पराजित गर्दै क्यामरुनले ऐतिहासिक सफलता हात पारेको हो।
क्यामरुनको जितमा मारी न्गाह मागाले दुई गोल गरिन् भने नाओमी एटोले एक गोल थपिन्। क्यामरुनले मालावीका चर्चित चाविङ्गा दिदीबहिनीलाई प्रभावहीन बनाउँदै उपाधि जित्न सफल भयो।
२१औं मिनेटमा क्यामरुनले अग्रता लियो। नाओमी एटोको प्रहार मालावीकी गोलरक्षक मर्सी सिकेलोले बचाएपछि आएको अवसरमा न्गाह मागाले नजिकैबाट हेडमार्फत गोल गरिन्।
त्यसको केही समयमै एटोले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गर्दै क्यामरुनको अग्रता २–० बनाइन्।
खेलको अन्त्यतिर क्यामरुनले तेस्रो गोल थप्यो। एटोले गोलरक्षक सिकेलोभन्दा अगाडि पुगेर बल नियन्त्रणमा लिँदै उत्कृष्ट क्रस निकालिन्। यसलाई न्गाह मागाले हेडमार्फत गोलमा परिणत गर्दै प्रतियोगितामा आफ्नो पाँचौं गोल पूरा गरिन्।
तेस्रो स्थानको खेलमा अल्जेरियाले शनिबार आयोजक मोरक्कोलाई पराजित गरेको थियो।
क्यामरुन यसअघि तीनपटक फाइनल पुगे पनि तीनैपटक नाइजेरियासँग पराजित भएको थियो। नाइजेरिया महिला अफ्रिका कप अफ नेसन्सको १० पटकको विजेता हो। पछिल्लो संस्करणमा भने क्यामरुन प्रतियोगिताका लागि छनोट हुन सकेको थिएन।
‘यो सपनाजस्तै लागिरहेको छ। क्यामरुनले यो क्षणका लागि लामो समयदेखि कडा मिहेनत गर्दै आएको थियो। आज अफ्रिकाको च्याम्पियन बन्न पाउनु हाम्रा लागि निकै ठूलो उपलब्धि हो,’ दुई गोल गरेकी मागाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।