काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षका नेता नेता पूर्णबहादुर खड्काले भदौ २४ गते सभापतिलाई मार्न मात्र बाँकी राखिएको भन्दै त्यो दिनबाट सुरु भएको रोडम्याप अझै जारी रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘हामीले २४ गते सम्झियौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी नराखी त्यो दिनबाट सुरु भएको रोडम्याप जारी छ ।’
उनले विशेष महाधिवेशनका नाममा, चुनावका नाममा शेरबहादुर देउवामाथि नै आक्रमण भएको भन्दै तराई–मधेशमा भएको पछिल्लो घटना ट्रेलर मात्रै भएको जिकिर गर्दै फिल्म सुटिङ हुनै बाँकी रहेको
बताए ।
उनले अघि भने, ‘चाहे विशेष महाधिवेशनको नाममा होस्, चाहे २१ फागुनको चुनावको नाममा होस्, त्यसलाई रोक्न सकेनौं भने मधेशमा हालै भएको जातिय द्वन्द्वको घटनाले देशलाई थरथर बनाएको अवस्था छ । मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ ।’
उनले यस्ता घटनाबाट जोगिनका लागि कांग्रेस एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले नेपालको राष्ट्रियता खतरामा रहेको भन्दै त्यसलाई जोगाउन राष्ट्रवादीलाई एकताबद्ध बनाउनुपर्ने अवस्था आएको बताए ।
‘नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता । नवीन, संघीन जिम्मेवारीमा नेपाली कांग्रेस उभिएको छ,’ उनले भने, ‘यदी हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हामीले हाम्रा छिमेकीसँग ध्यान पुर्याएर अघि बढ्न सकेनौं भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ । त्यसका लागि कांग्रेस एकताबद्ध हुन जरुरी छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।