काठमाडौं– लुम्बिनी लायन्सले निरोशन डिकवेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ र नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आउँदो सिजनमा श्रीलंकाका विकेटकिपर–ब्याटरले च्याम्पियन टोलीबाट पुनः खेल्ने छन् ।
गत सिजन डिकवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । समूहचरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध भएका थिए, ।
उक्त अवधीमा लुम्बिनीले ३ खेल हारेर संकटको स्थितिमा पुगेकाे थियो । गुलबदिन नैबको स्थानमा आएका डिकवेलाले लुम्बिनीलाई विश्वासिलो टोली बनाउन भूमिका खेलका थिए ।
डिकवेला आएपछि लुम्बिनीले बाँकी ६ खेल नै जितेर विजेता बनेको थियो । डिकवेलाले ६ खेलमा १२२ माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए । उनको औषत ३४.२५ रहेको थियो, जुन लुम्बिनीका खेलाडीहरुमा सबैभन्दा माथिल्लो हो । लुम्बिनीबाट डिकवेलाभन्दा बढि रन बनाउनेमा रोहित पौडेल (२७६) र डी’आरसी शर्ट (२५६) ले मात्र थिए ।
निरोशन डिकवेलालाई पुन लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले बताए । फाइनलमा उनले १२ बलमा अविजित ११ रन बनाएका थिए । डिकवेला हालै दम्बुला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लिगमा खेलेका थिए ।
३३ वर्षे डिकवेलाले श्रीलंकाबाट ५४ टेस्ट, ५५ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टवान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । डिकवेलालाई भारतविरुद्ध हुने टेस्ट शृंखलाका लागि बुधबारमात्र श्रीलंकाको टेस्ट टोलीमा बोलाइएको छ । उनले पछिल्लो पटक श्रीलंकाबाट ३ वर्ष अगाडि टेस्ट क्रिकेट खेलेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।