काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानको जिम्मेवारीबाट मुक्त गरेपछि पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर बिनोद दासले भावुक सन्देश सार्वजनिक गरेका छन् ।
दासले सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्व, संघर्ष र नेपाली क्रिकेटमा पुर्याएको योगदानको प्रशंसा गर्दै कप्तानीको जिम्मेवारी परिवर्तन भए पनि उनको क्रिकेटप्रतिको समर्पण र ऊर्जा कायमै रहनुपर्ने बताएका छन् ।
दासले रोहितलाई सन् २०१७ मा यू–१९ क्याम्पमा पहिलोपटक देख्दादेखि नै उमेरभन्दा परिपक्व सोच भएको खेलाडीका रूपमा आफूले देखेको स्मरण गरेका छन् ।
उनले रोहितले नेपाली क्रिकेटको कठिन समयहरूमा टोलीको नेतृत्व गर्दै निकै कम उमेरमै उल्लेखनीय सफलता दिलाएको उल्लेख गरेका छन् ।
‘सबैभन्दा चुनौतीपूर्ण परिस्थितिमा नेपालका सबैभन्दा युवा कप्तान बनेर तिमीले अत्यन्त गर्वका साथ टोलीको नेतृत्व गर्यौ,’ दासले लेखेका छन्, ‘तिम्रो कप्तानीमा नेपालले हासिल गरेका सफलता र कठिन समयमा देखाएको धैर्यता सधैं सम्झिइनेछ।’
दासले सन् २०२० मा राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका युवा ब्याटर रोहितलाई आफूले ध्यान दिन आग्रह गरेको प्रसंगसमेत स्मरण गरेका छन् । त्यसपछि रोहितले निरन्तर सफलता हासिल गर्दै अघि बढेको उनको भनाइ छ ।
कप्तानीबाट हटाइए पनि रोहितको नेपाली क्रिकेटमा योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै दासले उनलाई धन्यवाद दिएका छन् ।
‘आज म नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तानमध्ये एकका रूपमा तिम्रो योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन् ।
दासले कप्तानीको जिम्मेवारी परिवर्तन भए पनि रोहितको क्रिकेटप्रतिको जुनून, समर्पण र मैदानमा देखाउने ऊर्जा कहिल्यै कम नहोस् भन्ने शुभकामना दिएका छन् ।
उनले अन्त्यमा रोहितलाई नेपाली क्रिकेटका लागि अझै आवश्यक रहेको बताउँदै भनेका छन्, ‘नेपाललाई अझै पनि तिम्रो आवश्यकता छ, र हामी तिमीलाई सधैं त्यही जोश र आत्मविश्वासका साथ नेपाली क्रिकेटका लागि खेलिरहेको देख्न चाहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।