काठमाडौ–अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् ।
जनकपुर बोल्ट्सले शनिबार आफ्नो समाजिक प्लेटफर्मबाट हरमितलाई अनुबन्धन गरेको घोषणा गरेको हो ।
बोल्ट्सले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ । देव्रेहाते स्पिन अलराउन्डर हरमितले पहिलो दुई सिजन सुदुरपश्चिम रोयल्सलाई उपविजेता बनाउन ठुलो भूमिका खेलेका थिए । पहिलो सिजनको च्याम्पियन बोल्ट्स हरमितलाई भित्राउन पाउँदा निकै उत्साहित रहेको जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा बताए ।
पहिलो सिजनमा आसिफ शेख मार्की खेलाडी रहे पनि अनिल साहको कप्तानीमा बोल्ट्सले पहिलो सिजनको उपाधि जितेको थियो । दोस्रो सिजनमा कमजोर नतिजापछि बोल्टसले अनिललाई हटाएर दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तान बनाएको थियो । उनी पनि घाइते भएपछि बोल्ट्सको कप्तानीको जिम्मेवारी नामिबियाका जान निकोल लफ्टी इटनले लिएका थिए । जनकपुर ७ मध्येको एक खेलमात्र जिति पुछारमा रहेको थियो । आसिफ लुम्बिनी लायन्समा छन् ।
जनकपुरले उनको स्थानमा ललित राजवंशीलाई मार्की खेलाडी बनाएको छ । पहिलो सिजन जनकपुरलाई विजेता बनाउदा देव्रेहाते स्पिनर ललितले १० खेलमा १७ विकेट लिएका थिए । हरमितले पहिलो सिजनमा ८ विकेट लिनुका साथै ५ खेलमा २८ रन बनाएका थिए । दोस्रो सिजनमा उनले १६६ माथिको स्ट्राइक रेटमा ९ खेलमा १ सय ३३ रन बनाएका थिए भने ६.१८ को इकोनोमीमा १२ विकेट लिएका थिए । हरमितले अमेरिकाबाट २९ वानडे अन्तर्राष्ट्रिय खेलमा ३९ विकेट र २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।