काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलायत र स्विट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो युरोप (यूके र स्विट्जरल्यान्ड) २०२६’ आयोजना गर्ने भएको छ।
नास आईटीका अनुसार रोडशोमार्फत नेपाली सूचना प्रविधि कम्पनीहरूलाई युरोपका व्यवसाय, स्टार्टअप, लगानीकर्ता, इनोभेसन हब तथा गैरआवासीय नेपाली प्रविधि समुदायसँग जोड्दै नयाँ व्यावसायिक साझेदारी, प्रविधि निर्यात तथा लगानीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ।
यो कार्यक्रम स्विस सरकार विकास सहयोग, नेपाल इन बिजनेस–ग्रोथ एडभाइजर्स कार्यक्रम, यूके इन्टरनेसनल डेभलपमेन्ट को सहयोग तथा डिएआई यूके को कार्यान्वयनमा आयोजना हुन लागेको हो। यसअघि सन् २०२५ मा अष्ट्रेलिया र सन् २०२६ मा अमेरिकामा सफलतापूर्वक सम्पन्न भएका रोडशोहरूको निरन्तरताका रूपमा युरोप संस्करण आयोजना गर्न लागिएको हो।
नास आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार यस रोडशोले नेपाली आईटी उद्योगलाई युरोपसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ।
काठमाडौंमा शुक्रबार आयोजित मिडिया ब्रिफिङमार्फत नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज्ले ‘नेपाल टेक रोडशो यूके एन्ड युरोप २०२६’ को औपचारिक घोषणा गरेको थियो।
नेपालको आईटी उद्योग हाल देशकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा एक लाखभन्दा बढी दक्ष जनशक्ति कार्यरत रहेको तथा विदेशी आम्दानीमा वार्षिक २० देखि २५ प्रतिशतसम्म वृद्धि भइरहेको अनुमान छ।
नेपाल टेक रोडशो यूके एन्ड युरोप २०२६ मा १७ अग्रणी नेपाली प्रविधि कम्पनीहरूको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।