काठमाडौं– सिंगापुरमा आजदेखि सुरु भएको एसियन गेम्स पुरुष ट्वान्टी–ट्वान्टी छनोटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रनको पारी खेले । मात्र ४३ बल खेलेका उनले १६ छक्का र ५ चौका प्रहार गरे । भुर्तेलको ट्वान्टी–ट्वान्टी करिअरमा यो सर्वाधिक स्कोरसमेत हो ।
आजको खेलमा भुर्तेलले ६ छक्कासमेत प्रहार गरेका छन् । उनी नेपालका लागि एकै ओभरमा ६ छक्का हान्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीले मंगोलिया र कतारविरुद्ध ६ छक्का प्रहार गरेका थिए ।
यस्तै कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । मल्लले अविजित ४७ बलमा ८५ रन बनाए । उनले त्यसक्रममा ८ चौका र ५ छक्का हिर्काए ।
कप्तान पौडेलले पनि आक्रामक पारी खेल्दै १७ अर्धशतक बनाए । अविजित रहेका पौडेलले मात्र २१ बलमा ७ छक्का र ५ चौकाको सहयोगमा ६९ रन बनाए । ओपनर आशिफ शेख भने १० बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन बनाउँदै आउट भएका थिए ।
नेपालले यसअघि मंगोलियाविरुद्ध सन् २०२३ मा ३१४ रन बनाएको थियो । ट्वान्टी–ट्वान्टी आई मा सर्वाधिक स्कोरको रेकर्डमा नेपाल दोस्रो नम्बरमा छ । तेस्रो सर्वाधिक रन स्कोर पनि आज नेपालकै नाममा दर्ता भएको छ । पहिलोमा जिम्बाब्बेको रहेको छ । उसले जाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो ।
चीनका लागि मा क्विनच्याङ र देङ जिङ्क्वीले १/१ विकेट लिए । अन्य सबै बलरहरुले अत्यधिक रन खर्चिए पनि विकेट भने निकाल्न सकेनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।