काठमाडौं—पूजा महतोको शानदार अर्धशतकको मद्दतले एसियन्स गेम्स वुमेन्स क्वालिफायर २०२६ मा नेपालले बुधबार चीनलाई १९ रनले पराजित गरेको छ ।
यससँगै छनोटको समूह ‘बी’ दुई अंक जोडेको छ र शीर्ष स्थानमा रह्यो । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा चीनले जितका लागि १२६ रनको लक्ष्य पछ्याएको थियो । तर, उसले जवाफमा ५ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । चीनका लागि कप्तान मिङयु चुले सर्वाधिक ३० रन बनाइन् ।
यस्तै वाङ हुइयिङले २१ रन जोडिन् । खेलको अन्त्यतिर नेपालले कसिकसाउ बलिङ गरेपछि चीनले खुलेर रन बनाउन नसकेको हो । नेपाली बलरमध्ये रिया शर्मा सर्वाधिक सफल रहिन् र उनले १८ रनमा दुई विकेट हात पारिन् ।
यस्तै मनिषा उपाध्याय, कविता कुँवर र पूजाले पनि १-१ विकेट लिए । त्यस अगाडि नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा ५ विकेटमा १२५ रन बनाएको थियो ।
ओपनर पूजाले त्यसमा ६३ रन बनाइन् । उनले ५७ बलको इनिङ्समा ६ चौका प्रहार गरिन् । यस्तै सोनी पाख्रिनले १८ र रुबी पोदारले २२ रन जोडिन् । पूजाले सोनीसँग दोस्रो विकेटका लागि ३७ र रुबीसँग ६४ रनको साझेदारी गरिन् ।
चिनियाँ बलरमध्ये मा इरुकेले २६ रनमा २ विकेट लिएकी थिइन् । चीनले आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई हराएको थियो र उसको पनि २ अंक छ । इन्डोनेसिया भने शून्य अंकमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।