काठमाडौँ – आईसीसी विश्वकप लिग-२ अन्तर्गत भएको खेलमा संयुक्त राज्य अमेरिका पुन: अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा सीमित भयो । लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २७.१ ओभरमै ४ विकेटको क्षतिमा १७० रन पूरा गर्दै जित सुनिश्चित गर्यो ।
अमेरिकी इनिङ्समा स्मित पटेल र शयान जहांगिरले समान ३७-३७ रनको योगदान दिए । त्यस्तै सैतेजा मुक्कमल्लाले ३५ रन, मिलिन्द कुमारले अविजित २४ रन, शेहान जयासूर्याले १९ रन तथा शुभम रन्जानेले अविजित ११ रन जोडे ।
बलिङतर्फ स्कटल्याण्डका ज्याक हार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले समान एक-एक विकेट लिए ।
यसअघि स्कटल्याण्डका इनिङ्समा मार्क वाटले सर्वाधिक ६६ रन बनाए । ब्रेन्डन म्याकमुलेनले ३२, म्याथ्यु क्रसले २० तथा जर्ज मुन्सीले १९ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् ।
अमेरिकाका बलरहरूमा रुशील उगारकरले चार विकेट, सौरभ नेत्रवाल्करले तीन विकेट, शुभम रन्जानेले दुई विकेट तथा हरमित सिंहले एक विकेट लिए ।
जितसँगै अमेरिकाले २७ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थान पुन: हासिल गरेको छ । समान ३८ अंक भए पनि ३२ खेल खेलेको स्कटल्याण्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा पुगेको छ ।
यसै सिरिजअन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको अन्तिम खेल आगामी शुक्रबार हुने तय भएको छ, जसमा घरेलु टोली नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।