काठमाडौं– क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा पुछारमा रहेका नेपाल र यूएई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज आमने सामने हुँदैछन्। यो खेल विहान साढे ९ बजे सुरु हुनेछ।
सिरिजको तेस्रो खेलमा नेपालले युएईसँग खेल्न लागेको हो। गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। युएईले भने ओमानलाई २५ रनले पाखा लगाउँदै महत्वपूर्ण २ अंक बटुलेको छ।
क्रिकेट विश्वकप लिग २ को अंकतालिकामा पुछारमा भए पनि नेपाल र यूएईबीचको खेलले जहिले धेरै महत्त्व राख्छ। त्यसै पनि यी दुई टोली आमनेसामने हुँदा एल क्लासिको उपनामले भिड्ने गर्छन्।
नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा यूएईको सामना गर्दा महत्त्व उस्तै हुनेछ। लिग २ को शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान छ।
दुवै टोली यो सम्भावना टाढा छ, तर आशा मरिसकेको छैन। आठ राष्ट्र सहभागी लिग २ मा नेपाल २२ खेलमा १४ अंकसहित सातौं स्थानमा छ। यूएईको २२ खेलबाट १२ अंकमात्र छ।
अमेरिका २४ खेलमा ३६, स्कटल्यान्ड २८ खेलमा ३४, ओमान २५ खेलमा २९, नेदरल्यान्ड्स २४ खेलमा २८, नामिबिया २८ खेलमा २२ र क्यानडा २४ खेलमा २१ अंक जोड्दै शीर्ष ६ स्थानमा छन्।
अघिल्लो चरणको लिग २ मा ४० अंकका साथ तेस्रो स्थानमा रहेर नेपाल विश्वकप ग्लोबल छनोटका लागि छानिएको थियो। तर नेपाल अहिले त्यो भन्दा धेरै टाढा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।