काठमाडौं– रनरेटमा पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा आएको दक्षिण अफ्रिकालाई एकतर्फी पराजित गर्दै न्यूजिल्यान्ड आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।
भारतको इडन गार्डेनको फिन एनलको शतकीय पारीमा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै न्यूजिल्यान्ड फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको हो ।
१७० रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले मात्र १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । न्यूजिल्यान्डका लागि ओपनर फिन एलनले मात्र ३३ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरे ।
अन्तिम एक रन चाहिँदा उनी ९६ को स्कोरमा थिए । चौका हान्दै उनले आफ्नो शतक पूरा गर्दै टिमलाई जित पनि दिलाए ।
यस्तै टिम साइफर्टले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ७ चौका र २ छक्कासहित ५८ रनको पारी खेले भने रचिन रविन्द्रले अविजित १३ रन बनाए । दक्षिण अफ्रिकाका लागि बलिङमा कगिसो रवाडाले एक विकेट लिनुबाहेक अन्य कुनै पनि बलरले विकेट निकाल्न सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । उसका लागि मार्को जिसानले ५५ रनको अर्धशतकीय पारी खेले । ट्रिस्टन स्टब्सले २९, डेवाल्ड ब्रभिसले ३४, एडिन माक्ररमले १८ र क्विन्टन डीककले १० रन बनाए ।
यता बलिङमा न्युजिल्यान्डका लागि माट हेनरी, कोल म्याकेन्जी, रचिन रविन्द्रले २/२ विकेट लिँदा जिम्मी निशम र लोकी फेरग्यूजनले १/१ विकेट लिए। अपराजित रहँदै सेमिफाइनलमा आएको दक्षिण अफ्रिका आज भने एकतर्फी हार व्यहोरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।