काठमाडौं– अर्को साता काठमाडौंमा सुरु हुने भनिएको क्रिकेट विश्वकप (सिडब्ल्युसी) लिग २ को त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित गरिएको छ।
पश्चिम एसिया क्षेत्रमा देखिएको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज स्थगित भएको बताइएको छ। सिरिजमा नेपालसहित ओमान, युएईको सहभागिता रहने थियो।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा तय भएको यो सिरिज स्थगित भएको आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
सिरिज कीर्तिपुरस्थित टियु स्टेडियममा फागुन २६ देखि चैत ६ गते हुने सिरिजका लागि युएई र ओमानको टोली नेपाल आउने तय थियो।
विज्ञप्तिमा भनिएको छ , ‘मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका सिडब्ल्युसी लिग-२ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएका छन्। ओमान, यूएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित छन्।आगामी दिनमा थप परामर्शपछि नयाँ मिति घोषणा गरिनेछ।’
खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउनका लागि समस्या भएपछि सिरिज स्थगित भएको हो। सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली हाल बन्द प्रशिक्षणमा छ।
८ टोली सहभागी लिग-२ मा नेपाल २० खेलबाट १२ अंक सातौं स्थानमा छ। ओमान २४ अंकसहित चौथो र युएईको १० अंकका साथ पुछारमा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।