काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका १६ दशमलव ४ ओभरमा अलआउट हुँदै मात्र ९५ रनमै समेटियो ।
श्रीलंकाका लागि दसुन सनाकाले सर्वाधिक ३० रन बनाए भने कमिन्दु मेन्डिसले १३, दुनिथ वेल्लालग्गे र महिश थाकसिन्हाले १०/१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाको ब्याटिङ अर्डर कोल्याप्स पार्ने क्रममा इंग्ल्यान्डका विल ज्याक्सले सर्वाधिक ३ विकेट लिए । जोफ्रा आर्चर, लाइम डावसन र आदिल रासिदले २/२ विकेट लिँदा जेमी ओभर्टनको नाममा एक विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्लयान्डले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १४६ रन बनाएको थियो । उसका लागि फिल सल्टले ६२ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्सले २१, ह्यारी ब्रुकले १४, साम करणले ११ र जेमी ओभर्टनले १० रन बनाए ।
बलिङमा श्रीलंकाका लागि दिलसान मधुसनाकाले २, दुनिथ वालालग्गेले ३ र महिश थाकसिन्हाले २ विकेट हात पार्दा दुशामन्था चमीराले १ विकेट लिए ।
यसअघि शनिबार पहिलो खेल पाकिस्तान र न्युजिल्यान्डबीच वर्षाका कारण खेल रद्द भई अंक बाँडेका थिए ।
सुपर ८ अन्तर्गत आज अर्को खेल सवा ७ बजे भारत र दक्षिण अफ्रिकाबीच हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।