काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत नामिबियालाई हराउँदै पाकिस्तान पनि सुपर ८ मा पुगेको छ । सुपर ८ मा जाने अन्तिम टिम पनि पाकिस्तान बनेको छ ।
नामिबियालाई पाकिस्तानले समूह चरणको अन्तिम खेलमा १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पाकिस्तानले ३ विकेटको क्षतिमा १९९ रन बनाएको थियो ।
२०० सय रनको लक्ष्य पछ्याएको नामिबिया १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ९७ रनमै समेटियो ।
नामिबियाका लागि लौरेन स्टीनकाम्पले सर्वाधिक २३ रन बनाए भने अलेक्जेन्डर बुजिङ भोलस्चेन्कले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा पाकिस्तानका लागि उस्मान तारिकले ३ दशमलव ३ ओभरमा मात्र १६ रन खर्चिँदै ४ विकेट लिए । यस्तै सादाब खानले चार ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए भने मोहम्मद नमाज र सलमान मिर्जाले १/१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गर्दा पाकिस्तानका लागि साहिबज्यादा फरानले अविजित १०० रनको शतकीय पारी खेले । उनले ५८ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । यस्तै कप्तान सलमान आगाले ३८ रन बनाउँदा सादाब खानले अविजित ३६ रन बनाए भने साइम अयूबले १४ रन बनाए ।
बलिङमा नामिबियाका ज्याक ब्रासेलले २ र जेरार्ड इरासमसले १ विकेट लिए । समूह ए बाट भारत यसअघि नै सुपर ८ मा पुगिसकेको छ । यद्दपि केही बेरमा भारतले समूह चरणको अन्तिम खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल औपचारिकता मात्र हुनेछ ।
समूह ए बाट सुपर ८ मा भारत र पाकिस्तान, समूह बी बाट श्रीलंका र जिम्बाब्बे, समूंह सी बाट वेस्टइन्डिज लर इंग्ल्यान्ड र समूह डी बाट दक्षिण अफ्रिका र न्यूजिल्यान्ड पुगिसकेका छन् । जम्मा २० टिम सहभागी भएकामा बाँकी १२ टोली घर फर्किनेछन् । नेपालले ४ खेलमध्ये एक खेलमा मात्र मंगलबार स्कटल्यान्डविरुद्ध ७ विकेटको सान्त्वना जित निकालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।