काठमाडौँ – टी–२० क्रिकेट विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ ।
आईतबार मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य वेस्टइन्डिजले मात्र १५ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो।
नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रनको योगदान दिए। त्यस्तै सोमपाल कामीले २६ रन बनाए। लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११/११ रन जोडे।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिए।
१३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले एक विकेट गुमाएर १५ ओभरमा लक्ष्य भेट्टायो। वेस्ट इन्डिजका लागि शाइ होपले सर्वाधिक ६१ रन बनाए भने शीमरोन हिटमेयरले ४६ रन बनाए। ब्राण्डन किङले २२ रन बनाउँदा नेपालका लागि नन्दन यादवले एक विकेट लिए।
समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब थियो। नेपाल यसअघि इङ्ल्यान्डसँग चार रन र इटालीसँग १० विकेटले पराजित भएको थियो।
वेस्ट इन्डिज दुईपटकको विश्वकप बिजेता टिम हो। वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।