काठमाडौं– रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा वेस्टइन्डिजले टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई ३४ रनले पराजित गरेको छ ।
कसिलो बलिङ गर्दै सेफर्डले पाँच विकेट लिएपछि स्कटल्यान्ड धराशाही बन्यो । १८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले १८ दशमलव ५ ओभरमा अलआउट हुँदै १४७ रन मात्र बनाउन सक्यो ।
१८ औं ओभरमा सेफर्डले ह्याट्रिकसहित ४ विकेट निकाले । त्यसअघि पनि दुई ओभरमा उनले एक विकेट निकालिसकेका थिए । उनले ३ ओभरमा मात्र २० रन खर्चिँदै पाँच विकेट निकाले । यस्तै जेशन होल्डरले ३, समर जोसेफ र गुदाकेश मोतीले एक/एक विकेट निकाले ।
स्कटल्यान्डका लागि ब्याटिङमा रिची ब्यारिन्टनले सर्वाधिक ४२ रन बनाउँदा टम ब्रुसले ३५, जर्ज मुन्जीले १९, मार्क वाटले १५, ब्रान्डन म्याकमुलेनले १४ र म्याथ्यु क्रसले ११ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।
सिम्रोन हटमायरले सर्वाधिक ६४ रन बनाउँदा, ब्रान्डन किङले ३५, शेरफाइन रुथरफोर्डले २६, रोवमान पावेलले २४ र साइ होपले १९ रन बनाए ।
स्कटल्यान्डका लागि ब्राड कुर्रीले २, भोलिभर डाविड्शन, माइकल लिस्क र सफयान सरीफले एक/एक विकेट लिए ।
विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्डविरुद्ध अन्तिम ओभरमा तीन विकेटको संघर्षपूर्ण जित निकाल्दै विजयी यात्रा सुरु गरिसकेको छ । यस्तै आजै तेस्रो खेल केही बेरमा आयोजक भारत र अमेरिकाबीच हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।