काठमाडौं– महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा आज नेपालले आफ्नो चौथो खेल खेल्दैछ । आज नेपाल र स्कटल्यान्डबीचको खेल नेपालका लागि निर्णायक हुनेछ ।
दुवै टोलीले आजसम्म एक अर्कासँग खेलेका छैनन् । अभ्यास खेल खेले पनि प्रतियोगितामा भने पहिलो खेल हो ।
दुवै टोलीका लागि आजको खेल सुपर सिक्सका लागि महत्त्वपूर्ण छ । यद्यपि नेपालका लागि भने स्कटल्यान्डलाई जितेर मात्रै पुग्दैन । जिम्बावेमाथि जित निकाले पनि नेपालको २ अंक मात्र छ ।
नेपालले आज स्कटल्यान्डलाई ठूलो अन्तरले हराउनुपर्नेछ । पूर्ण राष्ट्र जिम्बावेमाथि शनिबार ६ विकेटको विजय हात पारेपछि नेपालको सुपर सिक्समा पुग्ने समीकरण ब्युँतिएको हो ।
नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । नेदरल्यान्ड्ससँग १ सय ४१ रनको लक्ष्य पछ्याउँदा अन्तिम समयमा चुकेको थियो । सम्झना खड्का र विन्दु रावलले उत्कृष्ट सुरुआत दिलाए पनि मध्यक्रमका ब्याटरहरू एकपछि अर्को आउट हुँदा नेपालले मौका चुकाउनुपरेको थियो । तर जिम्बावेसँगको खेलमा पूजा र कप्तान इन्दु बर्माले त्यही मध्यक्रमलाई नियन्त्रणमा लिँदै नेपाललाई एतिहासिक विजय दिलाएको थियो ।
नेपाललाई पराजित गरेमा स्कटल्यान्डको सुपर सिक्स यात्रा सुनिश्चित हुनेछ । समूह ‘बी’ आयरल्यान्डले सबै ३ खेल जितेर सुपर सिक्समा पुगिसकेको छ । स्कटल्यान्ड र थाइल्यान्ड ३ खेलमा समान २ जित हात पारी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालको ३ खेलमा २ अंक छ । जिम्बावे सबै खेल हारेर घर फर्किसकेको छ ।
सोमबार नै यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डका बीच प्रतिस्पर्धा हुनेछ । नेपालले स्कटल्यान्डलाई पराजित गर्न सकेमा यस खेलको नतिजाले पनि नेपालको अर्को चरणमा जाने सम्भावनालाई प्रभाव पार्नेछ । पहिलो ३ खेल जितेर यसअघि नै नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ ।
नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको खण्डमा नेपालसहित स्कटल्यान्ड र थाइल्यान्डको समान ४ अंक हुनेछ र यस्तोमा राम्रो रन रेट भएको दुई टोली सुपर सिक्समा पुग्नेछ ।
पहिलो पटक महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेल्दै नेपालले जिम्बावेमाथि विजय हात पार्न सकेको थियो । स्कटल्यान्डले भने २०२४ को ट्वान्टी–२० विश्वकप नै खलिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।