काठमाडौं – काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का र ९ चौकासहित ५७ रन जोडिन् । यस्तै नानपत कोचारियोङकाईले ३२ रन बनाउँदा अफिसरा शुवानचोनराथीले २८ रनको योगदान दिइन् ।
नेपालका लागि सीता रानामगरले २ विकेट निकाल्नुबाहेक अन्य कुनै पनि बलरले कसिलो बलिङ गर्न सकेनन् ।
त्यसअघि नेपाल त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा पूरा ब्याटिङ गरी १ सय २२ रनमा अलआउट भयो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १/१ विकेट लिए ।
१० राष्ट्र सहभागि प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डपछि, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । दुबै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्समा एकले अर्को टोलीसँग सामना गरेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।