काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । बिहीबारको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रन अन्तरले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त पक्का गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो ।
सानो लक्ष्य पाए पनि सुरुवातदेखि सम्हालिन नसक्दा विराटनगर उपाधि भिडन्तबाट बाहिरियो । प्रभावशाली विदेशी खेलाडीहरु भए पनि पहिलो पावर प्लेमै ३ विकेट गुमाएर दबाबमा आएको विराटनगरले त्यसपछि लगातार विकेट गुमाउँदै गयो ।
विराटनगरका लागि श्याम हेलजेटले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाउँदा मार्सेन्ट डिलाङ्गेले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मार्टिन गप्टिल २ रनमा, फाप डुप्लेसीस ३, लोकेश बम गोल्डेन डकआउट, शंकर राना ७, बसिर अहमद २, सन्दीप लामिछाने ३, प्रतिश जिसी २ रनमा आउट भए ।
लुम्बिनीका लागि बलिङमा तिलक भण्डारीले सर्वाधिक ३ विकेट लिए । यस्तै रुबेन ट्रम्पलमेन, जे–जे स्मिथले २/२ र शेर मल्लले १ विकेट निकाले ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए ।
दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।
बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।