काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेको छ । नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा गरेको हो ।
नेपालले अघिल्लो दिन चौथो खेलमा ६ विकेटको विजय हात पार्दै शृंखला २–२ को बराबरीमा ल्याएको थियो । नेपालले सन् २०२३ मा पनि मलेसिया भ्रमणमा खेलिएको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले नै जितेको थियो ।
बुधबार टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन बनाइन् । उनले ४६ बल खेलेकी थिइन् । माहिराहले १९ र ऐइना हमिजाह हासिमले १५ रन बनाइन् ।
नेपालबाट कविता कुँवरले ३ विकेट लिएकी थिइन । उनले तीनै विकेट अन्तिम ओभरमा लिएकी थिइन् । सोक्रममा उनले कुल ४ ओभरमा १६ रन खर्चिन । राजमती ऐरीले ३ ओभरमा १५ रन खर्चेर ३ र रचना चौधरीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन ।
नेपालले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो । उपकप्तान पूजा महतोले सर्वाधिक २४ बलमा २३ रन बनाई आउट भइन् । नेपाललाई विजयका लागि २ रन आवश्यक भएको समयमा उनी नुर आल्याको बलमा बोल्ड भइन् । पूर्व कप्तान रुविना क्षेत्री १५ बलमा १५ र कविता जोशी १ रनमा अविजित रहिन् ।
सम्झना खड्का ११, रुबि पोदार २५ बलमा २६, कविता कुँवर १९ बलमा १४, इन्दु बर्मा १३ बलमा ८ रन बनाई आउट भइन् । मलेसियाबाट आल्या, माहिराह र हासिमले १–१ विकेट लिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।