काठमाडौं–पाँच खेलको टी–आई सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा मलेसियामाथि सहज जित निकालेको छ ।
यो जितसँगै नेपालले सिरिज १–१ को अवस्थामा पुर्याएको छ । पहिलो खेलमा तीन रनले हारेको नेपालले कमब्याक गर्दै दोस्रो खेल ६ विकेटको जित हात पार्यो ।
पहिले ब्याटिङ गर्दै मेलसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६ दशमलव २ ओभरमा ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गर्यो ।
सुरुवाती अवस्थामै दुई विकेट गुमाएर दबाबमा आएको नेपाललाई उपकप्तान पूजा महतो र रुबिना पोद्दारको साझेदारीले खेल उकास्यो । पोद्दारले १५ रन बनाएर आउट भएपछि क्रिजमा आएकी कप्तान इन्दु बर्माले पनि पूजासँग आक्रामक साझेदारी गर्दै जित दिलाइन् ।
पूजा महतोले नेपालका लागि सर्वाधिक ३९ रन बनाइन् । इन्दु बर्माले अविजित २७ रन बनाइन् । मलेसियाकी अनिना हमिजले २ विकेट लिँदा नुर अलिया र नुस दानियाले १/१ विकेट लिए ।
यस्तै पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ९१ रन बनाएको थियो । अनिनाले ६३ बल खेल्दै ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।