काठमाडौं– टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्धको सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले १४९ रनको मध्यम लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो ।
सुरुवातमै दबाबमा परेको नेपालले आक्रामक ब्याटिङ गर्न नसक्दा बलियो लक्ष्य प्रस्तु गर्न सकेन । पहिलो दुई ओभरमा नै नेपालले कुशल भुर्तेल र आशिफ शेखलाई गुमाएको थियो ।
आज नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले उक्त रनका लागि ३५ बलको सामना गर्दै ३ चौका र एक छक्का हिर्काए ।
यस्तै कुशल मल्लले २१ बलमा २ छक्का र २ चौकाको सहयोगमा ३० रन बनाउँदा गुल्शन झाले १६ बलमा २ छक्का प्रहार गर्दै २२ रन बनाए ।
यस्तै एक छक्का प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले १८ बल खेलेर १७ रन बनाए । सन्दीप जोराले एक छक्कासहित ९ रन बनाउँदा नन्दन यादवले १ छक्का हान्दै २ बलमा अविजित ९ रन बनाए । आफ्नो इनिङ्समा नेपालले ६ चौका र ८ चौका प्रहार गर्यो ।
यता वेस्टइन्डिजका लागि जेशन होल्डरले चार ओभरमा २० रन खर्चिँदै चार विकेट लिँदा पहिलो टी–२० आईमा डेब्यू गरेका नभिन बिनदाइसीले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट लिए । यस्तै अकिल होइसिनले एक विकेट लिए । नेपालले तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल भोलि र अन्तिम खेल मंगलबार खेल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।