काठमाडौं– भारतले आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाउँदै एसिया कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । स्पिनरहरूको दबदबापछि भारतले आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानमाथि ७ विकेटको विजय हात पारेको थियो ।
गत मे महिनामा भएको सैनिक द्वन्द्वपछि यी देशले एकअर्काविरुद्ध खेलेको थिएन । यो खेलपछि दुवै टोलीका खेलाडीले हात भने मिलाएनन् । लक्ष्य प्राप्तिका लागि सजिलो रहेको विकेटमा टस जितेर ब्याटिङ गर्ने कप्तान सलमान अघाको निर्णय पाकिस्तानलाई निकै महङ्गो पर्यो । टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २७ रनमात्र बनाउन सक्यो ।
हार्दिक खेलको पहिलो बलमै सइम अयुबलाई आउट गरेपछि भारत सुरुदेखि नै खेलमा हाबी भयो । मोहम्मद हरिसले पनि ३ रनमात्र बनाउन सके । ओपनर साहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर शुभमन गिल ७ बलमा २ चौकासहित १० रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्माले १३ बलमै ३१ रन बनाए । यी देब्रेहाते ब्याटरले ४ चौका र २ छक्का प्रहार गरे । तिलक बर्मा प्रतिबलको हिसाबले २ चौका र १ छक्का हान्दै ३१ रनमा आउट भए । पाकिस्तानबाट सबै ३ विकेट अफ स्पिनर अयुबले लिएका थिए । उनले सोक्रममा ४ ओभरमा ३५ रन खर्चे ।
भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा ओमानलाई पराजित गरेको पाकिस्तानले दोस्रो चरणमा प्रवेश पाउन यूएईलाई पराजित गर्नुपर्ने हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।