काठमाडौं– गुवाहटीमा रहेको नेपाल ‘ए’ टिमले आसामविरुद्ध लगातार दोस्रो जित निकालेको छ । पाँच खेलको टी–२० सिरिजमा शनिबार दोस्रो जित निकालेसँगै नेपाल २–१ ले अगाडि रहेको छ । शनिबारको खेलमा नेपालले आसाममाथि ९ रनको जित निकाल्यो ।
नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा आसाम निर्धारित २० ओभरमा अलआउट हुँदै १८७ रनमा समेटियो । नेपालका लागि विवेक यादव, बसिर अहमद, आकाश चन्द र कमलसिंह ऐरीले २/२ विकेट लिँदा आदिल आलमले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको विशाल स्कोर खडा गरेको थियो । नेपालका लागि सन्दीप जोराले उत्कृष्ट अर्धशतकीय पारी खेले । जोराले ४८ बलमा ७४ रन बनाए । उक्त क्रममा सन्दीपले ६ चौका र चार छक्का हिर्काए ।
यस्तै आदिल आलम अन्सारीले १६ बलमा चार छक्का र एक चौका हान्दै ३५ रन बनाए । यता तृतराज दासले ३२ बल खेल्दै तीन चौका र एक छक्काको सहयोगमा ३३ रन बनाए ।
यस्तै कप्तान अनिल साहले २० बलमा पाँच चौका हान्दै ३१ रन बनाए । भने शुभ कंसाकारले दुई चौका हान्दै ८ रन बनाए । विवेक यादव शून्य रनमा नटआउट रहे भने अर्जुन घर्तीले नटआउट १ रन बनाए । बसिर अहमदले २ बलमा १ रन बनाए ।
पहिलो खेल वर्षाले रद्द हुँदा नेपाल डीएलएस प्रणालीमा १५ रनले पराजित भएको थियो । १९१ रनको लक्ष्य पछ्याउने क्रममा ८ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा पानी नरोकिएपछि खेल रद्द भएको थियो ।
यस्तै दोस्रो खेलमा नेपालले ९६ रनको फराकिलो जित निकालेको थियो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसाम ७७ रनमै अलआउट भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।