काठमाडौं – दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ।
जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्।
ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। २५ रनमा ३ विकेट गुमाउँदै नेपालले सुरुवात खराब गर्यो।
त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। गुलशन २३ रनमा आउट भए।
३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाउन सफल रहे। आरिफ शेख अविजित ११ रनमा रहे। एसिटीका इ रहेमानले २ तथा एल इभान्स र डि दुबेले १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो। टोलीका कुनै खेलाडी नेपाली बलर सामु क्रिजमा टिक्न सकेनन्।
एन ब्रोसले सर्वाधिक १६ रन बनाए। केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले। जे स्मिथले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्।
सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए। सहाबले ४ ओभरमा १२ र दीपन्द्रले १३ रन मात्र दिंदै किफायती बलिङ गरे। गुलशन र रोहितलर १/१ विकेट आफ्नो नाममा लेखाए।
यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो।
नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ।
टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।