काठमाडौं– अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।
बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो। रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए। जे लेमिरले १८ तथा ह्यारी डिक्सनले १६ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको थियो।
नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाएका थिए। आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाएका थिए।
लोकेश बमले १६ बलमा २४ रन बनाएका थिए। भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाएका थिए।
रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिएका थिए।
आजको खेलमा नेपालले मुख्य दुई खेलाडी नै परिवर्तन गरेको थियो। ब्याटिङमा लगातार खराब फर्ममा रहेका कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेखलाई नै बेन्चमा राखेको थियो। यस्तै लेग स्पिनर सन्दीप लामिछाने पनि बेन्चमै थिए।
आजको प्लेइङ ११ मा गुश्लन झा, रुपेशकुमार सिंह, सोमपाल कामी र साहब आलमलाई फेरि मौका दिइएको थियो।
शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ।नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।