काठमाडौं – अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिज अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रेनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो।
नेपालका लागि कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए। आजको खेलमा कप्तानी गरेका दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाए।
लोकेश बमले १६ बलमा २४ रन बनाए। भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए।
रेनेगेड्सका लागि फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिए।
आजको खेलमा नेपालले मुख्य दुई खेलाडी नै परिवर्तन गरेको छ। ब्याटिङमा लगातार खराब फर्ममा रहेका कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेखलाई नै बेन्चमा राखेको छ। यस्तै लेग स्पिनर सन्दीप लामिछाने पनि बेन्चमै छन्।
आजको प्लेइङ ११ मा गुश्लन झा, रुपेशकुमार सिंह, सोमपाल कामी र साहब आलमलाई फेरि मौका दिइएको छ।
नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो।
नेपाल हाल ४ खेलमा २ अंक जोडेर आठौं स्थानमा छ। शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ।नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।