काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टि २० सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो।
नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए।
होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
नेपालका लागि आरिफ शेखले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २७ तथा लोकेश बमले अविजित रहँदै २५ रन जोडे।
यस्तै भीम सार्कीले १८, कप्तान रोहित पौडेलले ९, कुशल मल्लले ६, करण केसीले १ तथा नन्दन यादव १ रनमा नटआउट रहे।
हुरिकेन्सका लागि निभिथन राधाकृष्णन र रफ म्याकमिलिनले २/२ विकेट लिँदा मार्कस बेन, ग्याबी बेल र ब्रान्डली होपले एक/एक विकेट लिए।
आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरी नै बेन्चमा थिए।
लगातार खराब फर्ममा रहेका कारण दीपेन्द्रलाई आजको खेलमा प्लेइङ ११ मा नराखिएको हो। यस्तै आज सोमपाल कामी, साहब आलम, गुल्शन झा र रुपेश सिंह पनि बेन्चमै थिए।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
नेपालले यसपछि भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।