काठमाडौं– अस्ट्रेलियामा जारी टप–एण्ड टी–२० प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।
समूह चरणका ६ खेलमध्ये नेपालले लगातार तीन खेल हारेको हो। तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो।
१७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमै समेटियो। पहिलो खेल नर्दन टेरिटोरी स्टाइकर्ससँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो।
नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले। रनआउट हुनुअघि उनले ४९ बल खेल्दै ५३ रन जोडे। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३३ रन जोडे भने ओपनर कुशल भुर्तेलले २५ रन जोड्दा कुशल मल्लले ११ रन जोडे।
मेलबर्नका लागि अस्टिन अन्लेजार्क र ड्युग वारेनले २/२ विकेट लिँदा आर्यन शर्माले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोडेको थियो। मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए। मात्र ४७ बल खेल्दै उनले ६ चौका र दुई छक्का प्रहार गरे।
यस्तै थोमस रोजर्सले पनि ४६ बलमा ७ चौका र एक छक्काको सहयोगमा ६५ रनको आक्रामक पारी खेले।
पहिलो ओभरमै विकेट लिएर नेपालले त्यसपछि सम्हालिन नसक्दा विशाल स्कोरको लक्ष्य पायो। सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले चार ओभरमा २६ रन खर्चिए। यस्तै सोमपाल कामी र साहब आलमले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।