काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगिता अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । समूहचरणमा हुने ६ खेलमध्ये नेपाल पहिलो र दोस्रो खेलमा पराजित भएको हो ।
दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रन अन्तरले पराजित भएको हो । पहिलो खेलमा पनि नर्दन टेरिटोरीसँग ४२ रनले नेपाल पराजित भएको थियो ।
बंगलादेशले दिएको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनमै समेटियो ।
यो हारसँगै नेपाल जारी लिगमा दबाबमा परेको छ । शीर्ष चारमा रहनका लागि नेपालले अब बाँकी चार खेल राम्रो रनरेटका आधारमा जित्नुपर्ने हुन्छ । आज नेपालको भर पर्दा ब्याटर चल्न नसक्दा दबाबमा आयो र लक्ष्य भेटाउन सकेन ।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले पनि त्यो पर्याप्त भएन । मल्लले ४७ बल खेल्दै नटआउट ५९ रन बनाए । यस्तै ओपनर आशिफ शेखले २८ रन बनाउँदा लोकश बमले १५ र कुशल भुर्तेलले १२ रन बनाए भने नन्दन यादवले नटआउट १४ रन बनाए ।
बंगलादेश ‘ए’ का लागि राकिबुल हसनले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १८ रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए । यस्तै हसन महमुदले २ तथा टोफिल हमिद र रिपोन मण्डलले एक/एक विकेट लिए ।
त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।
बंगलादेशका लागि ओपनर जिशान आलमले सर्वाधिक ७३ रन बनाए । उनले चार चौका र पाँच छक्का हिर्काए । यस्तै मोहम्मद नईमले २५ रन बनाउँदा आईफ हुसैनले मात्र २३ बलमा नटआउट ४८ रन बनाए भने सैफ हसनले ११ रन बनाए ।
नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा, सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले एक/एक विकेट लिए ।
आज नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको थियो । शुक्रबार नर्दनसँगको खेलमा मैदान उत्रिएका सोमपाल कामी, रुपेश सिंह र साहब आलम आज बेन्चमा रहेका राखिएको थियो । उनीहरुको स्थानमा करण केसी, रिजन ढकाल र नन्दन यादवलाई टोलीमा समावेश गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।