काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा बंगलादेशविरुद्ध १८४ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
टस जित्दै पहिले ब्याटिङ रोजेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको हो ।
बंगलादेशका लागि ओपनर जिशान आलमले सर्वाधिक ७३ रन बनाए । उनले चार चौका र पाँच छक्का हिर्काए । यस्तै मोहम्मद नईमले २५ रन बनाउँदा आईफ हुसैनले मात्र २३ बलमा नटआउट ४८ रन बनाए भने सैफ हसनले ११ रन बनाए ।
नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा, सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले एक/एक विकेट लिए ।
पहिलो खेल नर्दन स्ट्राइकरसँग हारेको नेपाल आज जित निकाल्दै कमब्याक गर्न चाहन्छ । तर पहिलो खेलमा १७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउादै १३५ रनमै समेटिएको थियो ।
आजको लक्ष्य पनि नेपालका लागि कम्ति चुनौतीपूर्ण देखिन्न । अघिल्लो खेलमा नेपालको टप अर्डर र मिडिल अर्डर फ्लप हुँदा ४२ रनको फराकिलो हार व्यहोरेको थियो ।
आजको खेलमा पनि बंगलादेशविरुद्ध आक्रामक सुरुवात गर्नुपर्ने नेपालमाथि दबाब छ । दुवै टिमको यो दोस्रो खेल हो । र दुवैले एक/एक हार व्यहोरेका छन् । बंगलादेशले पहिलो खेल पाकिस्तान साइनसँग हारेको थियो ।
आज नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । शुक्रबार नर्दनसँगको खेलमा मैदान उत्रिएका सोमपाल कामी, रुपेश सिंह र साहब आलम आज बेन्चमा रहेका छन् ।
उनीहरुको स्थानमा करण केसी, रिजन ढकाल र नन्दन यादवलाई टोलीमा समावेश गरिएको हो ।
यस्तो छ नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने र गुल्शनकुमार झा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।