काठमाडौं–नवौं प्रधानमन्त्री (पीएम) कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने भएको छ।
नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिएका हुन्।
काठमाडौंको कभर्ड हल स्तरोन्नतीको अवस्था रहेको कारण पहिलो पटक एनभिए लिग काठमाडौं बाहिर गर्ने लागिएको श्रेष्ठले बताए।
उक्त निर्णयसँगै एनभीए लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीक कभर्ड हलमा जेठ ८ देखि १५ गतेसम्म हुनेछ।
महासचिव श्रेष्ठकाअनुसार पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितातर्फ विजेता हुने टोलीले समान ८ लाख पाउनेछन्। उपविजेता हुने टोलीले ४ लाख र तेस्रो हुने टोलीले समान २ लाख पाउने संघले जनाएको छ।
सर्वोत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघका उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए। यसअघि पोखराको इन्डोर हलमा बैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक प्रथम लायन्स कप भलिबल प्रतियोगिता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।