काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनितिक चेत हुनेहरूले अहिलेको सरकार विचौलियाहरूको हो भनेर स्विकारिसकेको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थोरै पनि राजनीतिक चेत भएकाहरूले त्यस कुरालाई स्वीकार गरिसकेको बताएका हुन्।
'अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् । यो सरकार दलाल पुँजीपति, विचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने, राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने सरकार हो भन्नेकुरा राम्रैसँग स्थापित भइसकेको छ,' उनले भने।
उनले शिक्षकहरूले आन्दोलन गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि सरकारले जिम्मेवारीपूर्वक उनीहरूको माग सम्बोधन नगरेको आरोप लगाएका छन्।
'त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढंगले शिक्षकहरुलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरुलाई अपमानित गर्ने काममा लागेको छ,’ उनले भने।
उनले शिक्षकहरुसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए। माओवादी केन्द्र शिक्षकहरुसँग गरेको सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।