काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन राइजर्स हैदरावादले चेन्नई सुपर किङ्सलाई उसैको मैदानमा हराएको छ ।
शुक्रबार कामिन्डु मेन्डिस, हर्सल पटेल र इशान किसनको सानदार प्रदर्शन गरेको खेलमा हैदरावाद चेन्नईविरुद्ध पाँच विकेटले विजयी भएको हो । पहिलो पटक चेन्नईका लागि खेली रहेका डेवाल्ड ब्रेभिस र टोलीका कान्छा खेलाडी आयुष माथ्रेले भने राम्रो प्रदर्शन गरे ।
हैदरावादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । हैदरावादका इशान किसनले ४४ रन जोडे भने मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे ।
चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रनमा सीमित भएको थियो । उसका लागि ब्रेभिसले ४२ तथा माथ्रेले ३० रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
हैदरावादका पटेलले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे । उनी प्लेयर अफ द म्याच बने । विजयी हैदरावाद ६ अङ्कसहित आठौँ स्थानमा छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।