काठमाडौँ –इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।
मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गएराती भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।
कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको लागि रायन रिकेलटनले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए । मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्यो । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुन् ।
कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए । त्यस्तै, हर्षित राणाले चा, वेंकटेश अय्यरले तीन, क्विन्टन डे कक र स्पेन्सर जाँनसन समान एक÷एक बनाउँदा सुनील नारिनले एक रन पनि जोड्न सकेनन् । कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका छन् । दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एक÷एक विकेट लिए । यो जित संगै अंक तालिकाको पुछारमा रहेको मुम्बई अब अकं तालिकामा छैटौँ नम्बरमा उक्लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।