काठमाडौँ –इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार नरेन्द्र मोदी रंगशालामा गुजरात टाइटन्ससँग ३६ रनले पराजित भएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ९७ रनको लक्ष्य दियो । जवाफमा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १६० रन बनायो ।
मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट तथा गुजरात पञ्जाब किंग्ससँग ११ रनले पराजित भएको थियो । जितसँगै गुजरातले दुई अंक जोडेको छ । मुम्बई दोस्रो खेलमा पनि खाता खोल्न सकेन ।
मुम्बईको इनिङ्समा सुर्यकुमार यादवले २८ बलमा तीन चौका र ४ छक्का प्रहार सहित ४८ रन प्रहार गरे । तिलक बर्माले ३९ रनको योगदान गरेका थिए । तेस्रो विकेटको लागि सुर्यकुमार र तिलकले ४२ बलमा ६२ रनको साझेदारी गरेका हुन् । ओपनिङ जोडी रोहित शर्मा आठ र रायन ६ रन बनाएर आउट भए । बलिङतर्फ मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान दुई विकेट लिए ।
गुजरातको लागि ओपनर साई सुदर्शनले ४१ बलमा चार चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए । कप्तान शुभमन गिलले २७ बलमा ३८ जोडेका थिए । पहिलो विकेटको लागि दुईबीच ७८ रनको बलियो साझेदारी भएको थियो । आज दुई खेल हुनेछन् । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद तथा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।