काठमाडौं – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत रहेको पुलिसले चौथोपटक उपाधि हासिल गरेको हो।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिस ६ विकेटले विजयी भएको छ। १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
पुलिसलाई च्याम्पियन बनाउँने क्रममा कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे। उनले ७० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि कुशलले अमित श्रेष्ठसँग मिलेर ७७ रनको साझेदारी गरे। अमित ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३९ रनमा आउट भए।
गुल्शन झा ९ र शंकर राना १ रनमा आउट भए। दिलिप नाथ २४ बलमा २ चौका र २ छक्काको सहयोगमा ३१ रनमा अविजित रहे। आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्धशतकको सहयोगमा ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार गर्यो।
आर्मीका लागि बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे। उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे। टोलीले २५ रन जोड्दा ५ विकेट गुमाइसकेको अवस्थामा बसिर क्रिजमा आएका थिए। छैठौं विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे।
कप्तान विनोद ५८ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए। सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितीमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए। नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे। विवेकले २७ बलमा ११ रन जोडे।
आर्मीको माथिल्लो क्रमको ब्याटिङलाई चल्न नदिन पुलिसका तीव्रगतिका बलर करण केसीले ३ विकेट लिए। सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए।
लिग चरणमा शीर्ष २ मा रहेर आर्मी र पुलिसले फाइनल खेलेका हुन्। लिग चरणको खेलमा पुलिसको १८ खेल लामो अपराजित यात्रा आर्मीले रोकेको थियो।
पुलिस भने ४ पटक फाइनल खेल्दा ४ पटक नै उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।