काठमाडौँ –इण्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले स्तब्ध भएको थियो ।
दोस्रो खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि निकोलस पूरन र मिचेल र्माशले अर्धशतकीय पारी खेले ।
पूरनले २६ बलमा ६ छक्का र ६ चौकासहित ७५ तथा मार्शले ३१ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी सिजनमा उनीहरूको यो लगातार दोस्रो अर्धशतक हो ।
यस्तै, अब्दुल समदले अविजित २२, कप्तान ऋषभ पन्तले १५ तथा डेविड मिलरले अविजित १३ रन जोडे । हैदराबादका लागि कप्तान प्याट कमिन्सले दुई तथा एडम जाम्पा र मोहम्मद शामीले एकरएक विकेट लिए ।
त्यसअघि राजीव गान्धी इन्टरनेसन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो ।
उसका लागि ट्रभिस हेडले २८ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अनिकेत वर्माले ३६, नितिशकुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६, कप्तान प्याट कमिन्सले १८ र हर्षल पटेलले अविजित १२ रन जोडे ।
लखनउका लागि शार्दुल ठाकुरले चार, आवेश खान, रवि विश्नोई, प्रिन्स यादव र दिग्वेश राठीले एकरएक विकेट लिए । जारी सिजनमा हैदराबादको यो पहिलो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनको फराकिलो अन्तरले हराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।