काठमाडौँ –आज संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछन् । कुलमान घिसिङलाई हटाएको बिषयलाई लिएर प्रतिपक्षदलहरुले संसद अवरोध कायमै राख्ने भएपछि संसद खुलाउन सभामुख देवराज घिमिरे छलफलमा जुटिरहेका छन् ।
यसअघि बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची भएपनि बस्न सकेको छैन । बैठकको बिषयमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गरीरहेको उनको सचिवालयले जनाएको छ ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।