काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडिबाट विरोध प्रदर्शन सुरु गरेका हुन् ।
प्रदर्शनको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरेका छन् । घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन् । सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यसको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ । घिसिङलाई हटाइएको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी तथा अन्य संगठनहरुले पनि विरोधको तयारी गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।