एजेन्सी–दिल्ली प्रहरीले पहारगन्ज क्षेत्रमा सञ्चालन भइरहेको सेक्स र्याकेट पत्ता लगाएर २३ जना महिलाको उद्धार गर्न सफल भएको छ।
यसमा ३ जना नाबालिग र १० जना नेपाली नागरिक रहेको प्रेस ट्रस्ट अफ इन्डियाले जानकारी दिएको हो।
प्रहरीले मानव तस्करीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २१ वर्षीय नुरसेद आलम, २२ वर्षीय मोहम्मद राहुल आलम, ३० वर्षीय अब्दुल मनान, तौसिफ रेक्सा, २९ वर्षीय समिम आलम, २६ वर्षीय मोहम्मद जरुल र मोनिष रहेका छन्।
यो संयुक्त कारबाही पहारगन्ज प्रहरी थाना, सारदानन्द मार्ग प्रहरी थाना र हिम्मतगढ प्रहरी थानाले चलाएको थियो।
‘आरोपीहरूले नेपालसहित पश्चिम बंगाल र भारतका अन्य राज्यबाट महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ल्याउने र देहव्यापारमा लगाउने गरेको पाइएको छ,’ एक प्रहरी अधिकारीले भने। उनीहरूलाई पहारगन्जको एउटा कोठामा राखिएको थियो। त्यहाँबाट उनीहरूलाई विभिन्न होटलहरुमा पठाउने गरिन्थ्यो।
प्रहरीले छापा मार्नअघि सो क्षेत्रको रेकी गरेको थियो भने प्रहरीलाई नै नक्कली ग्राहक बनाएर पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।