काठमाडौं– कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)बीचको खेलबाट आईपीएल २०२५ सुरु भएको छ।
यो खेलमा आरसीबी टोलीले ७ विकेटले सहज जित हात पारेको छ। खेलमा आरसीबीको टोलीले १७५ रनको लक्ष्य पछ्याउँदै १६ दशमलव २ ओभरमा खेल समाप्त गरेको हो।
यस अघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
आरसीबीको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे। उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।
पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए। साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए। कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए।
देवदत्त पटिकल १० रनमा आउट हुँदा लियम लिभिङ्गस्टोन ५ बलमा १५ रनमा अविजित रहे। केकेआरको लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान १ विकेट रह्यो।
केकेआरको लागि कप्तान अजिक्या रहाणेले सर्वाधिक ५६ रन जोडे। उनले ३१ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरे। दोस्रो विकेटका लागि सुनिल नारायणसँग मिलेर रहाणेले १ सय ३ रनको शतकीय साझेदारी गरे। नारायणले २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडे।
केकेआरको मध्येक्रमका ब्याटर चल्न नसक्दा १ विकेटमा १ सय ७ रन जोडेको अवस्थाबाट ६७ रन थप्दा ७ विकेट गुमायो। पछिल्लो ५ ओभरमा कोलकाताले २९ रन जोड्दा ३ विकेट गुमाएको थियो। अन्तिम २ ओभरमा मात्र ९ रन जोडेपछि कोलकाताले बलियो स्कोर खडा गर्न सकेन।
अंगकृष्ण रघुवंशी २२ बलमा २ चौका र १ छक्काको सहयोगमा ३० रन जोड्दै आउट भए। आरसीबीको लागि क्रुर्नाल पाण्ड्याले ३, जोस हेजलवुडले २, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।