काठमाडौं– नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डले पदबाट राजीनामा दिएका छन् । गत फागुन १८ गते बसेको एमालेको ४५ औं केन्द्रीय सचिवालय बैठकले प्रेस चौतारीका उपाध्यक्ष रहेका पाण्डेलाई विभागको सचिवमा मनोनयन गरेको थियो ।
पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका थिए । ‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यही चैत १० गतेदेखि विराटनगरमा हुन लागेको चौतारीको महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध हुने पक्काजस्तै भएपछि प्रचार विभागको सचिवबाट राजीनामा दिएका हुन् ।
एमाले स्रोतका अनुसार बिहीबार बेलुका नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई चौतारीको अध्यक्ष बनाउने आवश्वासन दिएका छन् । चुनावबाट भन्दा पनि निर्विरोध अध्यक्ष बन्ने आश्वासन पाएपछि उनले आज प्रचार विभागको सचिवबाट राजीनामा दिएको स्रोतले बताएको छ ।
शुक्रबार नै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन् । राई हाल संगठनका उपाध्यक्ष रहेका छन् । राई र पाण्डे अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी रहेका थिए ।
चौतारीको दशौं राष्ट्रिय सम्मेलन १० चैतबाट विराटनगरमा सुरु हुँदैछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।