काठमाडौं–लुम्बिनीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेशलाई कर्णालीले २२१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २२० रनको स्कोर बनायो । टप अर्डरका ब्याटर चाँडै आउट भए पनि तल्लो क्रमले कर्णालीको स्कोर सम्हाल्यो ।
आठौं विकेटका लागि दीपेन्द्र रावत र दिनेश अधिकारीले ६० रनको साझेदारी गरेका थिए । दीपेन्द्रले व्यक्तिगत रुपमा भने आज अर्धशतक बनाए । ९२ बलमा खेलेका उनले ६१ रनको योगदान दिए ।
अर्जुन घर्तीले २६ रन बनाउँदा दिनेश अधिकारीले २४, प्रकाश जैशीले २०, दिवान पुनले नटआउट १८ र ओपनर रविन्द्रजंग शाहीले १३ रन बनाएका थिए ।
बलिङतर्फ मधेशका रुपेश सिंह, रञ्जित कुमार , हरिशंकर साह, अनिलकुमार साह र कमल गुप्ताले समान २/२ विकेट लिए ।
पहिलो रनमै विकेट गुमाएको कर्णालीले १०३ को स्कोरसम्म पुग्दा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि दीपनेद्र र दिनेशले ६० रनको साझेदारी गर्दै टिमलाई अगाडी बढाएका थिए ।
कर्णालीको आजको सातौं खेल हो । यसअघिका ६ मध्ये तीनमा जित र तीनमा हार व्यहोरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।