काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीमाति रोमाञ्चक जित निकालेको छ ।
अन्तिम ओभरसम्म गएको निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले ५ रनको जित निकाल्यो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४९ दशमलव ४ ओभरमा २०० रनमा समेटियो ।
लुम्बिनीका लागि प्रज्वल थापाले व्यक्तिगत ८४ रनको पारी खेले पनि जितसम्म लैजान भने सकेनन् । उनको विकेट गएपछि लुम्बिनी दबाबमा परेको थियो । ४९ औं ओभरमा सुनिल धमलाले विकेट लिएसँगै लुम्बिनी दबाबमा आयो र अन्तिम ओभरमा चाहिएको ८ रन पूरा गर्न सकेन ।
यस्तै कप्तान देश खनालले ४० रन बनाउँदा आकाश त्रिपाठीले २१ रनको योगदान दिए । बलिङतर्फ करर्णालीका दिनेश अधिकारी र दीपेन्द्र रावतले ३/३ विकेट लिँदा प्रकाश जैशीले २ र सुनिल धमलाले एक विकेट लिए ।
जारी लिगमा कर्णालीको यो तेस्रो जित हो भने लुम्बिनीको पनि तेस्रो हार हो । ७ खेल खेलेको लुम्बिनीले चारमा जित निकालेको छ । कर्णाली भने आजको खेलसँगै कर्णालीले तीन जित र तीन हारका साथ अंकतालिकामा ६ अंक जोडेको छ ।
त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्दै कर्णाली ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै २०५ रनको स्कोरमा समेटिएको थियो ।
कर्णालीका लागि दुई जना ब्याटरले अर्धशतकीय पारी खेले । अर्जुन घर्ती र दीपेन्द्र रावतले अर्धशतक प्रहार गरेका हुन् । आक्रामक सुरुवात भएको कर्णालीले लगातार विकेट गुमाइरहेको अवस्थामा दीपेन्द्र र अर्जुनले पारी सम्हालेका थिए । उनीहरुले सातौं विकेटका लागि १०२ रनको साझेदारी गरे । अर्जुनले ५६ रनको योगदान दिए भने दीपेन्द्रले आउट हुनुअघि ६६ रन बनाए ।
यस्तै ओपनर सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चल रावतले ११ र बिपिन रावलले १० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले तीन विकेट लिए । कसिलो बलिङ गर्दै उनले १० ओभरमा चार मेडन राख्दै ३७ रन मात्र खर्चिए । यस्तै बिप्राशन केसी, अजय चौहान र निर्मल गुरुङले दुई/दुई विकेट लिँदा कप्तान देव खनालले एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।