काठमाडौं–५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा अब ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालत प्रशासनले केहीबेरअघि ३ वैशाखका लागि तारेख तोकेको हो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा पेसी आज सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए।
आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए।
तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्य व्यवहारिक काम पनि भएकाले दैनिक रुपमा सुनुवाइ गर्न कठिनाइ भएको जवाफ दिएका थिए।
२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए। २०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो।
उक्त संवैधानिक निकायहरूमा भएका नियुक्तिविरुद्ध १५ थान रिट दायर भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।