काठमाडौं – वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।
फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले १०२ रनमात्र बनाउन सक्यो। नेपालका लागि साना प्रवीणले सर्वाधिक ३१ रन बनाइन्। जारी सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी सानाले ३७ बल खेल्दै ३१ रन बनाएर आउट भइन्। ओपनर सम्झना खड्का २, पुजा महतो १५, कप्तान इन्दु बर्मा १५, रुविना क्षेत्री ७ रनमा आउट हुँदा कविता जोशी १७ र ममता चौधरी ८ रनमा अविजित रहे। बलिङमा नामिबियाकी एभलिन केजारुकुआले सर्वाधिक २ विकेट लिइन्।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो। नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन्। बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन्। रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे।
त्यसअघि आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा युगान्डालाई एक विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो।
नेपाल नामिबियासँग हारेको यो दोस्रो पटक हो। यस्तै नेपाल हङकङसँग २ रनले हारेको थियो। नेपालले युगान्डालाई भने हराएको थियो।
अब नेपालले हङकङसँग भोलि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।