काठमाडौँ –नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पहिलो खेल जितेको लुम्बिनीले पुलिसविरुद्ध भने सन्तोषजनक प्रदर्शन गर्न सकेन । पुलिसले दिएको २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।
उसका लागि प्रज्ज्वल थापाले ९४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ७२ रन बनाए । यस्तै, मृनाल गुरुङले ३०, सलाउद्दिन खानले १३ र कप्तान देव खनालले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
पुलिस क्लबका लागि सागर ढकालले १० ओभरमा २ मेडनसहित ३२ रन खर्चेर तीन विकेट लिए । यस्तै, ललितनारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीले दुई÷दुई तथा कुशल भुर्तेल र राशिद खानले एक÷एक विकेट लिए ।
त्यसअघि एक्स्ट्रा टेक ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।
पुलिस क्लबका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै, शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का समेत सामेल थियो । यसैगरी, गुलशन झाले अविजित ३६, दिलीप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए । बलिङतर्फ लुम्बिनी प्रदेशका लागि कृष्ण कार्की र अजय चौहानले तीन÷तीन विकेट लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।