भैरहवा – पहिलो पटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका सम्पूर्ण खेल उपत्यका बाहिर लुम्बिनी प्रदेशमा हुने भएपछि यहाँको क्रिकेट प्रेमीमा उत्साह छाएको छ ।
प्रधानमन्त्री कपका सम्पूर्ण खेल अहिले लुम्बिनी प्रदेशका तीन वटा खेल मैदानमा हुने भएको छ । यसको लागि तीन वटै खेलमैदानसँगै प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत यसपटक ४६ खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना हुँदैछ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङका अनुसार यी सबै रङ्गशालामा प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० टोलीले सहभागिता जनाउँदै छन् । यी सबै टोलीले एक अर्कासँग खेल्नुपर्नेछ । गुरुङका अनुसार सबै रङ्गशालामा सबै टोलीले खेल्ने गरी प्रतियोगिताको तालिका मिलाइएको छ । यसअनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा उद्घाटन र फाइनल खेल गरी जम्मा १७ खेल हुनेछन् । आइतबारबाट सुरु हुने क्रिकेट प्रतियोगिताको फाइनल खेल आगामी चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।